सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

ऐजन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए ।
 
उनले निकै किफायती बलिङ गरे । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । 
सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए । उनले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काए । नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिनुभयो । त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराए । सो ओभरमा उनले विपक्षी टोलीलाई मात्र एक रन दिए ।
 
यस्तै सन्दीपले खेलको १३औँ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए । खेलको १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे । उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिए । टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो ।
 
एक सय २० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो । गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए । बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन-तीन तथा आन्द्रे रसेलले एक विकेट लिए । 
 
विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए । खेलको १६औँ ओभरमा जमैकाका लागि ब्याटिङ गर्न आउनुभएका सन्दीपले मात्र तीन बल खेल्न सके । उनले कुनै रन भने बनाउन सकेनन्  । 
 
सन्दीपले हालसम्म तीन खेलमा चार विकेट लिइसकेका छन् । उनले भदौ ३ गते सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा चार ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै भदौ ५ गते ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा सन्दीपले चार ओभरमा ३० रन दिँदै एक विकेट लिएका थिए । सन्दीपको टोली जमैकाले सेन्ट लुसियासितको खेल 
 पाँचविकेटले जितेको थियो भने ट्रिनबागोसँगको खेल सात विकेटले गुमाएको थियो । गुयानासितको खेल हारेसँगै जमैका अङ्क तालिकाको पाँचौँ स्थानमा झरेको छ ।