‘कतारको विश्वकप मेरो अन्तिम हुनेछ’

लियोनेल मेस्सीले कतारमा आयोजना हुने विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । ३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्डले अर्जेन्टिनासँग पछिल्ला ४ विश्वकपमा सहभागिता जनाएका छन् । यसक्रममा १९ खेलमा उनले ६ गोल गर्नुका साथै ५ वटा गोलको अवसर सिर्जना गरेका छन् ।

सन् २०१४ मा अर्जेन्टिना उपविजेता बनेको थियो भने सन् २०२१ मा उनले टोलीलाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । मेस्सीले जित्न बाँकी उपाधि भनेको विश्वकप नै हो ।

सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरे यता उनले टोलीका लागि १६४ खेलमा ९० गोल गरेका छन् । पाँचौँ विश्वकपमा भाग लिँदै गर्दा उनले डिएगो म्याराडोना र ह्याभिएर मास्चेरानोको कीर्तिमानलाई उछिन्नेछन् ।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना समूह सीमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्डसँग रहेको छ । ‘विश्वकपमा जे पनि हुन सक्छ । सबै खेल कठिन हुन्छन् । प्रतियोगिता जित्ने भनिएका टोलीले सधैँ जित्दैनन्,’ मेस्सीले भने, ‘अर्जेन्टिना सधैँ विश्वकपको दाबेदार रहँदै आएको छ ।’ एजेन्सी