सुशान्त मृत्यु प्रकरण : रियाले सुशान्तलाई लागुपदार्थ दिएको आरोप

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूतका वकिल विकास सिंहले उनकी पूर्व प्रेमीका रिया चक्रवर्तीले सुशान्तलाई जबरजस्ती लागुपदार्थ दिने गरेको आरोप लगाएका छन् ।

लागुऔषधको कुरा तब आयो जब ईडीले रियाको फोनमा यसबारे प्रमाण भेट्टाए । ईडीले यी प्रमाण प्राप्त गरेपश्चात नै सीबीआई र नारकोसिस्ट कन्ट्रोल ब्यूरोलाई दिएको छ ।  जसपश्चात सुशान्तको केसमा अहिले यो कोणबाट पनि जाँच सुरु गरिएको छ । ईडीले रियाको केही ह्वाट्स एप म्यासेजहरु शंकास्पद भेटाएका छन् जसमा लागुऔषधबारे कुरा गरिएका छन् । एक गौरव आर्यसँग रियाले (एमडीएमए) ड्रग्सको बारेमा कुरा गरेकी छिन् ।

नोभेम्बर २५ मा जया शाहसँग पनि यस्तै बारेमा कुरा गरिएको छ । म्यासेजमा जयाले कफि, चिया वा पानीमा ४ थोपा मिलाएर उसलाई खुवाउन भनेकी छिन् र त्यसको असर ३०,४० मिनेट पछि देखिने पनि म्यासेजमा भनिएको छ । तर कसलाई खुवाउने भनेर नाम भने उल्लेख गरिएको छैन ।

रियाको ह्वाट्स एपका यी म्यासेज सार्वजनिक भएपछि उनमा सुशान्तलाई जबरजस्ती ड्रग्स दिएको आरोप लागेको हो । सुशान्तका वकिल विकासले भारतीय मिडियालाई भनेका छन्,“ हामीले हाम्रो एफआईआरमा उल्लेख गरेका छौं की सुशान्तलाई अत्यधिक लागुऔषध दिएको थियो । तर हामीले सोचका थियौं की यो कुनै डाक्टर वा मनोचिकित्सकद्वारा दिइएको होला । तर यो सत्यले हाम्रो अनुमान गलत सावित गरिदिएको छ । सायद यी ड्रग्स उसको दिमागलाई नियन्त्रण गर्न दिइएको थियो ।”

वकिल विकासले यो गैरकानुनी भएको भन्दै सम्बन्धित व्यक्तिलाई कारबाहीको माग गरेका छन् । सुशान्तका घरमा काम गर्ने कामदारहरुको कुरामा साथ दिँदै यस्ता लागुपदार्थ दिएको हुनाले नै घरमा पार्टी हुँदा पनि सुशान्तलाई केही थाहा नहुने र दिनरात सुतेर बस्‍ने गरेको हुनसक्ने उनले बताए ।

सुशान्तको मृत्यु प्रकरणको मुद्दामा अनुसन्धान गरिरहेको सीबीआईले अगस्ट ६ मा रिया उनका भाई सोविक, बुबा इन्द्रजीत, आमा सन्ध्या, घर प्रबन्धक सामुएल मिरान्डा र श्रृति मोदीविरुद्ध एफआईआर दायर गरेका थिए । उनीहरु विरुद्ध अपराधिक षड्यन्त्र, चोरी, धोकाधडी, धम्की, अन्य आरोपहरु लागेका छन् ।