यमनमा जासुसीको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला

साना– विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ ।

मृत्युदण्डको सजाय सुनाइएकामा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञ, प्राध्यापक र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ ।

यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो ।

नाम नबताउने शर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने जानकारी दिए ।

एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेश “कानुनको उपहास” भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ ।

यमनमा विगत चार वर्षदेखि इरान समर्थित हुथी विद्रोही र साउदी अरेबिया समर्थित तथा अन्तरराष्ट्रियरुपमा मान्यताप्राप्त सरकारी फौजबीच भिषण युद्ध जारी छ । यमन युद्धमा हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबार छाडेर अन्यत्र पलायन भएका छन् । एजेन्सी