पपुवा न्यूगिनीमा गर्भवतीसहित २४ जना आदिवासीको मृत्यु

पोर्ट मर्सबी (रासस/एएफपी)– पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवतीसमेत रहेको प्रहरीले जनाएको छ ।

हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पपुवा न्यूगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला प्रान्तमा आदिवासी समुदायबीच सदियौंदेखि हिंसात्मक झडप भइरहेका छन् । हेला प्रान्तमा विगत तीन दिनदेखि आदिवासी समुदायबीच हिंसात्मक झडप भइरहेको प्रहरीले जनाएको छ ।

हेला प्रान्तीय प्रशासक विलियम बान्डोले २४ जनाको मृत्यु भएको पुष्टी भइसकेको र घटनामा अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने बताए । घटनास्थल पुगेका प्रहरी र अरु सुरक्षा अधिकारीले पछिल्लो स्थितिको जानकारी गराउन बाँकी रहेकाले यसपटकको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बान्डोले बताए ।

हालैमात्र नियुक्त हुनुभएका प्रधानमन्त्री जेम्स मारापेले थप सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिँदै घटनाका दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने – मेरो जीवनमै आज यो सबैभन्दा दुःखद् दिन हो । मेरै निर्वाचन क्षेत्रका मुनिमा र कारिडामा धेरै बालबालिका र गर्भवतीको हत्या भएको छ ।

कारिडा गाउँमा मात्र आक्रमणकारीले छ महिला, आठ बालबालिका र दुई जना गर्भवतीको हत्या गरेका प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री मारापेले भने, बन्दुकको आडमा हिंसा फैल्याउने तिम्रा दिन अब सकिए । निर्दोष व्यक्तिको हत्या गर्ने अपराधीलाई के गर्नु पर्दछ भन्ने मलाई राम्रैसँग थाहा छ ।

उनले हिंसामा संलग्नमाथि मृत्युदण्डको व्यवस्था कानुनमा रहेको पनि बताए ।

उक्त घटना हुनुको कारण भने अझै खुल्न सकेको छैन, तर बलात्कार वा चोरी वा सीमा विवादसम्बन्धी विगतको दुश्मनीकै कारण यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।