भारतीय राष्ट्रपतिलाई पाकिस्तानले दिएन हवाइ मार्ग

इस्लामाबाद । भारतका राष्ट्रपति रामनाथ कोबिन्दका लागि हवाइ मार्गको अनुरोध पाकिस्तानले अस्वीकार गरिदिएको छ ।

नयाँदिल्लीको पछिल्लो व्यवहारको कारण देखाउँदै पाकिस्तानले भारतको आग्रह अस्वीकार गरेको जनाएको छ । ‘कश्मीर’ मामिलाबारे भारत र पाकिस्तानबीच पछिल्लो समय तनाब बढिरहँदा यस्तो आग्रह पाकिस्तानले अस्वीकार गरेको हो ।

‘भारतीय राष्ट्रपतिले आइल्याण्डको यात्राका लागि पाकिस्तानको हवाइमार्ग प्रयोग गर्ने अनुमति मागेका थिए । तर हामीले उनलाई अनुमति नदिने निर्णय गर्‍यौँ,’ पाकिस्तानी विदेश मन्त्री शाह मेहम्मुद कुरैसीले भनेका छन् । तर यसबारे विस्तृतमा उनले उल्लेख गरेका छैनन् ।

सामान्यतः यस्ता हवाइ यात्राका लागि सम्बन्धित देशले अनुमति दिन वा नदिन सक्छ । भारतले भने यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।