घटायो राष्ट्र बैंकले कल डिपोजिटको ब्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कल खाताको ब्याजदर घटाएको छ । बचत खाताको ब्याजदरसँग टाइअप हुँदै आएको कल खाताको ब्याजदरको सम्बन्धमा राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।

यसअघि कल खाताको डिपोजिटको ब्याजदर बचत खाताको न्यूनतम ब्याजदरभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको थियो । राष्ट्र बैंकले अब भने बचत खाताको न्यूनतम ब्याजदरको आधा ब्याजदर मात्रै कल खातामा दिन पाउने व्यवस्था गरेको छ ।

उदारहरणको लागि कुनै बैंकको बचत खाताको ब्याजदर ३ प्रतिशत देखि ५ प्रतिशतसम्म छ भने कल खातामा १.५ प्रतिशत भन्दा बढी ब्याजदर दिन पाइँदैन । साथै कल डिपोजिटमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याज बढाउन समेत नपाउने ब्यवस्था गरिएको छ ।

अहिले फरक फरक बचत खाताको बीचमा अधिकतम २ प्रतिशतको फरक हुनुपर्ने व्यवस्था छ । तर, बचत खातामा भने प्रकाशित ब्याजदरको ०.५ प्रतिशतसम्म ब्याजदर बढाउनसक्ने छुट दिइएको छ ।