भारतमा एकैदिन थप ९५ हजारमा संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।

दैनिक संक्रमित संख्या हरेक दिन बढ्दो क्रममा रहेको भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बुधबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।