मलेसियाका राजाले गद्दी त्यागे, यस्तो छ कारण

क्वालालम्पुर (रासस/एएफपी)– मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौँले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरूले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ ।

मलेसियाली राजाले रुसी पूर्वसुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ ।

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, “महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औँ राजाका रूपमा गद्दी त्याग गर्नुभएको राजदरबारले जानकारी दिएको छ ।”

तर राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन ।

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिएका थिए ।

उनले बिदा लिएलगत्तै केही अनलाइन सञ्चारमाध्यममा राजा सुल्तानले रुसकी पूर्वसुन्दरी (मिस मस्को) सँग विवाह गरेको खबर आएको थियो ।

मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ ।