सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु

कुन्दुज (रासस/एएफपी)– अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन् ।

बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरू सात जना गम्भीर घाइते भएका जिल्ला गभर्नर मोहम्मद रुस्तम राघीले बताए ।

स्थानीय गाउँलेहरूले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए । मानिसहरू भित्र काम गरिरहेको समयमा दायाँबायाँको पर्खाल एकाएक भत्किएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै राघीले बताए ।

खानीको पर्खाल भत्किएको कारण हालसम्म थाहा हुन सकेको छैन । प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नजारीले खानीमा काम गर्नेहरू व्यावसायिक व्यक्तिहरू नभएको बताए ।

स्थानीय गाउँलेहरू खानीको व्यवसायमा दशकौँदेखि संलग्न छन् र तिनीहरूमा सरकारको कुनै नियन्त्रण पनि छैन, नजारीले भने । उनले सरकारले गाउँमा उद्धार टोली पठाएको जानकारी दिए ।