बढी मूल्यमा आलु–प्याज बेच्‍ने एक व्यापारीलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं । आलु तथा प्याजको कालोबजारी गर्ने कालीमाटी तरकारी बजारका एक व्यापारी कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको अनुगमनमा ती व्यापारीलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको हो । ती व्यापारीले आलु तथा प्याज बढी मूल्यमा बिक्री गरेको पाइएको छ ।

यस्तै, विभागले चन्द्रागिरि नगरपालिका ८ मा रहेको एक ग्यास स्टोरलाई कागजसहित विभागमा उपस्थित हुन पनि आदेश दिएको छ । अनुमति नलिई व्यवसाय सञ्चालन गर्दै आएको गुनासो आएपछि उनीबाट कागजात माग गरिएको हो ।