सौर्य एयरलाइन्सले असोज दोस्रो सातादेखि उडान पुनः सुरु गर्ने

सौर्य एयरले असोज दोस्रो सातादेखि उडान थाल्ने

काठमाडौं । सौर्य एयरलाइन्सले असोज दोस्रो सातादेखि उडान पुनः सुरु गर्ने भएको छ । लकडाउनका बेला बन्द भएको सेवा सौर्यले पुनः सुरु गर्न लागेको हो ।

असोज दोस्रो साताबाट ट्रंक रुटको पाँचवटा गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जानकारी दिए । सौर्य एयरलाइन्सले डेढ वर्षअघि देखि भारतको कुवेर समूहलाई नयाँ साझेदार भित्र्याएर कम्पनी सञ्चालन गरिरहेको छ । कुवेर समूहका विकास मालुले भारत र दुबईमा विभिन्‍न क्षेत्रमा लगानी गरेका छन् । यो समूहले १० वटा नयाँ जहाज खरिद गरी आक्रामक रुपमा कम्पनीलाई अगाडि लैजाने लक्ष्य लिएको छ ।

सौर्य एयरसँग यसअघि दुईवटा जहाज सञ्चालनमा थिए । क्यानडाको बम्बार्डियर कम्पनीका सीआरजे २०० जेट इन्जिनका जहाज थिए । लकडाउनको अवधिमा एयरलाइन्सले अर्को ५० सिटर त्यस्तै जहाज भित्र्याएको थियो ।

“असोजको दोस्रो साताबाट हामीले सेवा दिन सुरु गर्नेछौं,” अध्यक्ष पोख्रेलले भने, “केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं । साथै चाँडै थप चारवटा एटीआर विमान भित्र्याएर आक्रामक रुपमा बजार विस्तार गर्नेछौं ।” एयरलाइन्सले दैनिक रुपमा झापाको चन्द्रगढी एक, विराटनगरमा तीन, भैरहवा, नेपालगन्ज र धनगढीमा दुई–दुई उडान गर्ने जनाएको छ । एयरलाइन्सले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न लागेको जनाएको छ ।