पोलबाट टेलिफोनको तार चोरी गर्ने ४ जना पक्राउ

विराटनगर । पोलबाट टेलिफोनको तार चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिकाको विभिन्‍न स्थानबाट टेलिकमको तार चोरी भएको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा प्रहरी टोलीले विराटनगर ४, जमानुगाछीमा जाँच गर्ने क्रममा चोरीमा संलग्न चारजना पक्राउ परेका हुन् ।

टेलिकमको १५० पेयर र २२० मिटर केवल तार, को.९प ४१५८ नम्बरको यामाहा कम्पनीको मोटरसाइकलसहित विराटनगर महानगरपालिका ६ बस्‍ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । चारै जनालाई चोरी ऐनअन्तर्गत थप अनुसन्धानसँगै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।