करेन्ट लागेर ललितपुर र प्युठानमा २ जनाको मृत्यु

काठमाडौं । ललितपुर र प्युठानमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२३ धापाखेल डाउनटाउन बस्ने मानबहादुर केसीको घरको बाहिरी भागमा टायल राख्ने क्रममा करेन्ट लाग्दा सोही ठाउँ बस्ने बाराको देवताल गाउँपालिका घर भएका ४० वर्षीय नगेन्द्र महतोको मृत्यु भएको हो ।

घरको बाहिरपट्टी टायल राख्ने क्रममा बाँधेको खटको बाँसले हाइटेन्सन लाइनमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी प्युठानको स्वर्गद्वारी नगरपालिका–३ उपल्लो भिंगृमा करेन्ट लागेर १६ वर्षीया श्रेया नेपालीको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा कपडामा आइरन लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।