सर्वोच्चको आदेश : कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु निःशुल्क गर्नु

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरी असोज १५ गते भएको फैसालको पूर्णपाठमा सर्वोच्चले सरकारी अस्पतालबाट निःशुल्क पीसीआर परिक्षण गराउन सरकारका नाममा परमादेश दिएको हो।

कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै त्यसका लागि सरकारी निकायमा शुल्क लिन नपाइने भनी आदेश गरेको हो ।  परीक्षणका लागि सरकारी निकायमा गएका नागरिकको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भनी सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले गरेको फैसलामा निजी अस्पताललाई शुल्क लिन भने रोक लगाएको छैन। तर, कतिपय निजी अस्पतालले भने तोकेभन्दा बढी शुल्क लिइरहेका छन्। सर्वोच्चले तोकेभन्दा बढी निजी अस्पताललाई शुल्क लिन नदिन सरकारलाई निर्देशन दिएको छ ।

फैसलामा विस्तारै सरकारी अस्पतालमै कोरोनाको परिक्षण र उपचार हुने प्रबन्ध गर्न निर्देशन दिइएको छ।
फैसलामा जनस्वास्थ्य सेवा नियमावली २०७७ मा सरुवा रोगको सूचीमा कोभिड–१९ तुरुन्त राख्न भनिएको छ । सरकारले कोरोनालाई सरुवा रोग भने औपचारिक सूचीमा भने अहिलेसम्म राखेको छैन।