पेरिसमा टाउको काटेर हत्या गरिएका शिक्षकको समर्थनमा हजारौँको प्रदर्शन

काठमाडौँ । पेरिसमा गत शुक्रबार इस्लामिक अतिवादीले टाउको काटी हत्या गरेका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्समा हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै एक जना चेचेन युवाले पटीको टाउको काटेर हत्या गरेका थिए।

त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरूले हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

पेरिसमा प्रदर्शनमा सहभागी मानिसहरूले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए।

राष्ट्रपति एमान्यूअल माँक्रोले उक्त हमलाले सबै ‘इस्लामिक आतङ्कवादी हमला’को सीमाना पार गरेको र ‘अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको’ बताएका छन्।

फ्रेन्च प्रधानमन्त्री जँ क्यास्टेक्सले देशभर ठूला जुलुसमा सहभागी मानिसहरूलाई उनकै शब्दमा ‘फ्रान्स नडराएको’ र ‘आफूहरूलाई विभाजित पार्न नदिने’ बताएका छन्।