प्रचण्डले भने कर्णाली प्रदेशबारे ओलीसँग कुनै सहमति भएको छैन

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णाली प्रदेश विवादबारे कुनै सहमति नभएको बताएका छन् ।

प्रचण्डका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओलीसँग चारबुँदे सहमति भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र बिहान अध्यक्षले आफ्ना कुरा राखेर हिँडेको जानकारी गराएका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चारबुँदे सहमति भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

सूर्य थापाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा मुख्यमन्त्रीद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको जानकारी दिएका छन् ।

तर, सापकोटाले बिहान साढे ९ बजे दुई अध्यक्षबीच भएको भेटमा प्रचण्डले संसदीय दलमा देखापरेको समस्या समाधान गर्न त्यहीँको पार्टी कमिटी र सरकारलाई दिन प्रस्ताव गरेको र ओलीले नमानेपछि प्रचण्ड उठेर हिँडेको जानकारी दिएका छन् ।