२४ घण्टामा विराटनगर र धरानमा १० कोरोना संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगर र धरानमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा ७ र धरानमा ३ जनाको मृत्यु भएको हो ।

कोसीसहित विराटनगरका विभिन्‍न कोभिड अस्पतालहरुमा उपचार गराइरहेका ५ महिला र २ पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन् । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होममा एक, न्युरो अस्पतालमा एक, विराट मेडिकल कलेजमा एक र नोबेल मेडिकल कलेजमा अर्का एकजनाको मृत्यु भएको हो ।

मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोसी कोभिड उपचार केन्द्रमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना संक्रमण देखिएपछि आइतबार अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा विराटनगर–१२ की ६४ वर्षीया वृद्धाको पनि मंगलबार बिहान मृत्यु भएको छ ।

न्युरो अस्पतालमा उपचाररत विराटनगर–१० की ६४ वर्षीया वृद्धाको मृत्यु भएको छ । विराटनगर–७ की ९६ वर्षीया वृद्धा महिलाको नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका विराट नर्सिङ होममा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालको आइसोलेसनमा झापाको बिर्तामोड–४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको मंगलबार निधन भएको छ ।

यता, विराटनगरको कोसी अस्पतालमा सोमबार राति रतुवामाई नगरपालिका–४ का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको भने पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । धरानमा मंगलबार थप २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।