बार्सिलोनाको फराकिलो जित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले फराकिलो जित निकालेको छ । क्याम्प नाउमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले फेरेन्सभारोसमाथि ५–१ को फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सी, अन्सु फाती, फिलिप्पे काउटिन्हो, पेड्री र ओसमाने डेम्बलेले एक एक गोल गरे । फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल फर्काएका थिए ।

खेलको २७ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा पातीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । उनले डि जोङको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए ।

५२ औं मिनेटमा फातीको पासमा फिलिप्पे काउटिन्होले गोल गर्दै खेल ३–० को स्थितीमा ल्याए । तर, ६८ औं मिनेटमा बार्सिलोना दस खेलाडीमा समेटिन पुग्यो । डिफेन्डर जिरार्ड पिक्युइले सोझै रातो कार्ड पाएपछि बार्सिलाना १० खेलाडीमा समेटिएको थियो ।

७० औं मिनेटमा फेरेन्सभारोसका खाराटिनले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ८२ औं मिनेटमा पेड्रीले डेम्बलेको पासमा गोल गर्दै खेल ४–१ को स्थितिमा ल्याए । खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीको पासमा डेम्बलेले गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ । समूह जीमा रहेको बार्सिलोनाले समूहमा तीन अंक जोडेको छ । फेरेन्सभारोसले भने खराब सुरुवात गरेको छ ।