दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला

नवलपरासी । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।

प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।