पत्रकारलाई बिनाकारण नियन्त्रणमा लिएर ४ घण्टा यातना

सुर्खेत । सुर्खेतमा कार्यरत पत्रकार रमेश रावललाई बिना कारण सुर्खेत प्रहरीले चार घण्टासम्म यातना दिएको छ ।

काँक्रेविहार दैनिक, नयाँ पत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत पत्रकार रावल कार्यालयको काम सकेर निवास फर्किने क्रममा मङ्गलबार राति प्रहरीले बिना कारण नियन्त्रणमा लिइ यातना दिएको हो ।

गोदामलाइनस्थित काँक्रेविहार दैनिकको कार्यालयबाट काम सकेर यरिचौकस्थित निवासमा फर्किने क्रममा मङ्गलबार राति साढे १० बजेदेखि विहान दुई बजेसम्म यरिचौक प्रहरी विटमा डिउटी खटिएका सिपाहीले ‘प्रहरी विट’ भित्र थुनामा राखी कुटपिट गरेको पीडित पत्रकार रावलले बताए ।

‘निवास जानेक्रममा मलाई प्रहरीतर्फ बोलाएर गुण्डागर्दी शैलीमा थर्काए । म कामबाट फर्किएर घर जान लागेको हुँ भन्दापनि बढी बोल्छस् भन्दै कुटपिट गरे,’ पीडित रावलले भने, ‘खानतलासी गरेर मसँग भएको मोबाइल, पर्स, परिचयपत्र लिई । प्रहरी विटभित्र थुनामा राखियो ।’
आफूलाई थुनामा राख्नुको कारण सोध्दा–‘राति किन हिँडेको तेरो पक्राउ पुर्जी आउँदै छ भन्दै नगरप्रहरीको गाडी बोलाइयो ।’

‘हवल्दारको कमाण्डमा आएको गाडी टोलीले ममाथि थप कुटपिट गरि गाडीमा बसाल्यो,’ रावलले भने । प्रहरीसँग पत्रकार दीपक अधिकारीले टेलिफोन कुराकानी गरेपछि मलाई त्यही छोडेर गाडी फर्कियो ।’ उनले भने, ‘मेरो मोबाइल र पर्स फिर्ता दिएर अलपत्र छाडियो ।’

प्रहरीले रातिमा एक्लै हिडिरहेका पत्रकार रावललाई मापसे गरेको भन्दै नियन्त्रणमा लिएको बताएको छ । यद्यपि, प्रहरीले मापसे चेकजाँच गरेको प्रमाण भने राखेको छैन जसले गर्दा प्रहरीले बिना कारण नियन्त्रणमा लिइ यातना दिएको प्रष्ट हुन्छ ।

वीरेन्द्रनगरमा चोरीका घटना बढ्दै आएकोले रातिमा एक्लै हिडेको देखेपछि सोधपुछ गर्न बोलाइएको तर यातना नदिएको नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बुढाले बताए । यद्यपि, सोधपुछ गर्न बोलाइएका रावललाई ४ घण्टासम्म प्रहरी नियन्त्रणमा लिनुले थप रहस्यमय देखिएको छ ।