बलात्कारीलाई फाँसीको माग गर्दै एक युवती एक सातादेखि मौन अनशन

काठमाडौं । बलात्कारीलाई फाँसी वा जन्मकैदको माग गर्दै एक युवती एक सातादेखि काठमाडौंको माइतीघरमा अनशन बसेकी छन् ।

‘अति भयो अब सबै मिलेर नारीलाई बचाउँ बलात्कारीलाई फाँसी वा कडाभन्दा कडा जन्मकैद सजाय संविधानमा लेखाऔं ’  भन्ने नाराका साथ एक युवतीले आफ्नो परिचय गोप्य राख्दै फागुन १३ गतेबाट मौन अनशन थालेकी हुन् ।

महिला हिंसालाई निरुत्साहित गर्न गरिएको अनशन आज (मंगलबार) छैटौं दिनमा पुगे पनि अनशनरत महिलाको मागबारे सरकार भने बेखबर छ ।

पछिल्लो समय नेपालमा महिलामाथि हत्या, हिंसा र बलात्कारका घटना एकपछि अर्को गर्दै भइरहेकाले हत्यारा र बलात्कारीहरुले उन्मुक्ति पाएको भन्दै ती महिलाले बलात्कारीहरुलाई कडा सजायको व्यवस्था संविधानमै उल्लेख हुनुपर्ने भन्दै मौन अनशन सुरु गरेकी हुन् ।

सबै नेपाली महिलाको आफ्नो अस्तित्व रक्षाका निम्ति अनशन सुरु गरे पनि कसैको ध्यानाकर्षण नभएको अनशनरत महिलाकी सहयोगी एवं महिला अभियन्ता सम्झना हुमागाईंले बाह्रखरीलाई बताइन् ।

देशमा एकपछि अर्को गर्दै महिला हिंसा बलात्कार र हत्याका घटना भए पनि फितलो कानुनी व्यवस्थाले बलात्कारीहरुले उन्मुक्ति पाउँदा हत्या, हिंसा र बलात्कार घटना भइरहेको हुमागाईं बताउँछिन् । यस्ता घटनाका दोषीलाई निरुत्साहित गर्न संविधानमै कडाभन्दा कडा सजायको व्यवस्था हुनुपर्ने माग रहेको अभियन्ता हुमागाईं बताउँछिन् ।