काठमाडौँ उपत्यकामा १०५१ सहित देशभर एकैदिन २३५१ जनामा कोरोना पुष्टि

सक्रिय संक्रमितको संख्या १०,५८२ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२२० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

८ हजार ८८४ जनाको पीसीआर र ८०३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । डा. गौतमका अनुसार काठमाडौँ उपत्यकमा १०५१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना पुष्टि भएको छ ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ ।  यसैगरी २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ । निको हुनेको दर ९५।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११२ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको छ । यसअघि हिजो ८,६५९ रहेको थियो ।