आज कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवस मनाइँदै

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ । दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए भने पुष्पलाल मत्रिता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले माधवकुमार नेपाल, प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा सोही स्थानमा कार्यक्रम हुने जानकारी दिएका छन् ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।