बसपार्कमा सामूहिक बलात्कार आरोपमा आठ जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीका अनुसार यही पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी अन्दाजी ३२/३३ वर्षीया महिलालाई नयाँ बसपार्कमा भेटेर मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बडुवालले नै फोन गरेर विभिन्न व्यक्तिलाई बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राति दुई र अर्को दिनको बिहान थप सातजनाले बलात्कार गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले सोमबार दिउँसो ३ बजेदेखि हालसम्म आठजना पक्राउ परेको र थप एकजना फरार रहेको बताए । उनका अनुसार प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा आरोपीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू सबै चिनजानकै व्यक्ति रहेको खुलेको छ । पीडित महिला कामको खोजीमा काठमाडौं आएको खुलेको छ । उनका श्रीमान् भारतमा रोजगारीका लागि गएको र लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ ।