मनाङमा वर्षासँगैको हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सुरक्षित बस्न प्रशासनको आग्रह

काठमाडौं । मनाङमा वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको हो । हिमपातपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । हिउँ परेसंगै चिसो बढेको छ । हिउँसँगै झरी पनि नथामिदा घरपालुवा जनावरको समेत बिजोग भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएको जानकारी दिए । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा विदेशी पर्यटक छन् । थोराङ्ला पासतर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी र हाइक्याम्पलगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान छ ।

यसैगरी तिलिचो ताल तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा उल्लेख्य पर्यटक रहेको छ । हिमपात र वर्षाका कारण पहिराको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोबास गरिएको छ । सोही स्थानमा सुरक्षित बस्न र यात्रा नगर्न स्थानीय प्रशासनले समेत सचेत गराएको छ ।