मलेसियामा संसद् विघटन, ६० दिनभित्र निर्वाचन गरिने

क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद् विघटनको घोषणा गरेका हुन् ।

संसद् विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरिएको छ । घोषणा गरेअनुसार आगामी ६० दिनभित्र निर्वाचन हुनेछ ।

प्रधानमन्त्री याकोबले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी दिए ।

सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएको र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ ।

सम्बोधनका क्रममा उनले भनेका छन्, “हामीले फेरी जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमत अनुसार गर्नेछौँ ।”

निर्वाचनकै मिति भने घोषणा भइसकेको छैन । सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । निर्वाचनबाट प्रतिनिधि सभाका २२२ सदस्य निर्वाचित हुनेछन् ।

यसअघिको निर्वाचनपछि सन् २०२० सम्म दुई वर्षका लागि महाथिर मोहम्मद प्रधानन्त्री निर्वाचित भएका थिए । त्यसपछि मुह्यीद्धिन यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिएका थिए । उनको सरकार पनि ढलेपछि वर्तमान प्रधानमन्त्री सब्रिले सन् २०२१ को अगस्त २१ मा सपथ ग्रहण गरेका थिए । सिन्ह्वा