प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्।

ती दलले एक हजार चार सय ३३ पुरूष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरूष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ दुई हजार दुई सय ९१ पुरूष र दुई सय ३५ महिला गरी दुई हजार पाँच सय २६ को उम्मेदवारी परेको छ।

प्रत्यक्षतर्फ प्रदेश नं १ मा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका छन्। चार सय ९३ पुरूष र ५५ महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश एकमा ३० दल र स्वतन्त्रले उम्मेदवारी दिएको जनाइएको छ।

मधेश प्रदेशमा प्रत्यक्षतर्फ एक हजार ५५ जनाको उम्मेदवारी परेको छ। नौ सय ७८ पुरूष, ७६ महिला र अन्यमा एक जनाले उम्मेदवारी दिएका छन् । मधेश प्रदेशमा ३७ दल र स्वतन्त्रले उम्मेद्वारी दिएका छन्।

बागमती प्रदेशमा ३२ दल र स्वतन्त्रले गरी प्रत्यक्षतर्फ सात सय एक जनाको उम्मेदवारी परेको छ। जसमा पुरूष छ सय १९ र महिला ८२ छन्। गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ दुई सय ७१ जनाको उम्मेदवारी परेको छ। जसमा पुरूष दुई सय ३७ र महिला ३४ जना छन्।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २५ राजनीतिक दल र स्वतन्त्र गरी पाँच सय ३२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा पाँच सय पुरूष र ३२ महिला छन्। कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी एक सय ४३ जनाको उम्मेदवारी परेको छ। जसमा एक सय ३९ पुरूष र चार महिलाको उम्मेदवारी रहेको आयोगले जनाएको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ २० राजनीतिक दल र स्वतन्त्र गरी दुई सय २६ जनाको उम्मेदवारी परेको छ। जसमा दुई सय १२ पुरूष र १४ महिलाको उम्मेदवारी परेको जनाइएको छ। यो तथ्याङ्क सोमबार साँझसम्म आयोगको प्रणालीमा प्रविष्ट भएका आधारमा सार्वजनिक गरिएको आयोगले जनाएको छ।