चीनमा कोरोना बढेसँगै केही जिल्लाहरुमा फेरि लकडाउन

काठमाडौं । चीनको व्यपारिक केन्द्र सांघाईमा कोरोनाका बिरामी बढेसँगै स्कुल , कलेज , शपिङ मल लगायतका ठाउँहरु बन्द गरिएको छ । मिडिया रिपोर्टका अनुसार सांघाईमा गत बुधबार मात्र कोरोनाका ४७ जना नयाँ बिरामी थपिएका छन् ।

जुन पछिल्लो तिन महिना यताकै सबै भन्दा बढी रहेको जनाइएको छ । संक्रमित मध्ये दुई जना बाहेकलाई हाल क्वारेनटाइनमा राखिएको छ । कोरोना (केस)मा बढोत्तरी देखिएसँगै कम्युनिटी ट्रान्समिसनले सांघाईका १६ मध्ये पाँच जिल्लाहरुमा लकडाउनको घोषणा गरेको हो ।

हाल लकडाउन घोषणा गरिएका जिल्ला मध्य सांघाईको पुडोग जिल्ला पनि समावेश छ , यही जिल्लामा सर्वप्रथम कोरोना संक्रमणको सुरुवात भएको थियो ।

अझै कोरोनाको चपेटामा चीन

विश्वका अधिकांस देशहरु हाल कोरोना महामारीको संक्रमणका कारण जारी बन्दाबन्दीलाई हटाउँदै गइरहेको अवस्थामा चीन भने हालसम्म कोरोना महामारीको चपेटा उन्मुक्त हुन सकिरहेको अवस्था छैन ।

चीनले अझै पनि ‘शुन्य कोभिड नीति’ लाई कडाईका साथ लागू गर्दै आएको अवस्था छ । गत सोमबाटदेखि उत्तरी चीनको फेनयाङ सहरमा पनि लकडाउनको घोषणा गरिएको थियो ।

यस्तै अर्को सहर होहोटमा कोरोनाका कारण बाहिरबाट आउने मानिस र सवारी साधनलाई रोक लगाइएको छ । यति मात्र नभएर चीनमा पार्क, अफिस, पसल र सार्वजनिक स्थानमा प्रवेश गर्दा ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट देखाउनु अनिवार्य गरिएको छ ।