नवलपरासीमा झाडापखालाले ग्रसित जनता

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१८ को पम्फापुर गाउँमा झाडापखाला फैलिएपछि जनताहरु ग्रसित भएका छन् ।

झाडापखालाबाट बिरामी भएका १८ जनाको परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । झाडापखालाले प्रकोपको रूप लिने देखिएपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय २३ जनाको उपचार गरिएको छ ।

गम्भीर अवस्थाका बिरामीलाई भने अस्पताल पठाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देवीलाल पौडेलले जानकारी दिए। अस्पतालमा बेड अभाव भएपछि एउटै बेडमा दुई जनालाई राखेर उपचार गरिएको छ ।

दशैंपछि गाउँको एउटा भण्डारामा खाना खाएपछि गाउँलेहरूमा झाडापखाला संक्रमण भएको हो । प्रकोपको रुपमा झाडापखला फैलिएपछि रामग्राम नगरपालिकाले गाउँमै अस्थायी शिविर संञ्चालन गरेको नगर प्रमुख धनपत यादवले बताए । झाडापखला र ज्वरोका कारण गम्भीर बिरामी भएका १९ जनामध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । दुर्गा पुजा समापनको प्रसाद खाएका सबैमा समस्या देखिएकाले फूड प्वाइनिङ्गका कारण झाडावान्ता फैलिएको आशंका गरिएको छ ।

वास्तविक कारण पत्ता लगाउन लुम्बिनी प्रदेशको स्वास्थय निर्देशनालय, स्वास्थ्य कार्यालयसहितको टोली सम्बन्धित स्थानमा पुगेर पानी र दिसाको नमुना संकलन गरेको रामग्राम नगरपालिकाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए ।

बुधवार भेटिएका बिरामीहरुलाई औषधि दिइएकोमा चेकजाँचको क्रममा अवस्था सुधारउन्मूख देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गम्भीर बिरामी भएकाहरुको पनि स्वास्थ्य अवस्थामा सुधार आएको स्वासथ्यकर्मीहरुले बताएका छन् । दसैं सकिएपछि गाउँमा लगाइएको भोजमा खाना खाएकाहरु बिरामी भएको स्थानीयले बताएका छन्।

अहिले झाडापखालाका रुपमा फैलिएको रोग हैजा पनि हुनसक्ने भएकाले अनुसन्धान टोली पठाएर यकिन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।