निर्वाचनमा पराजित भएपछि शेरधन राईको मतदातालाई गुनासो

‘जिल्लाको विकास गर्दा न्याय पाइन’

भोजपुर । नेकपा एमालेको तर्फबाट भोजपुर जिल्लाबाट प्रतिनिधिसभाको उम्मेदवार शेरधन राई पराजित भएका छन् । राई गठबन्धनका उम्मेदवार सुदन किरातीसँग २ हजार भन्दा बढी मतान्तरले पराजित भएपछि सामाजिक सञ्जालमार्फत मतदाताप्रति गुनासो गरेका छन् ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री र प्रदेश १ को मुख्यमन्त्रीसमेत भएका राईले मतदाताप्रति लक्षित गर्दै जिल्लाको विकासमा काम गर्दा पनि कामको मुल्यांकन र मैले न्याय नपाएको गुनासो गरेका छन् ।

यस्तो छ शेरधन राईले फेसबुकमा लेखेको स्टाटसः हार्दिक आभार तथा धन्यबाद ज्ञापन !
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मंसीर ४ गते सम्पन्न भई निर्वाचन परिणाम आइसकेको छ । निर्बाचन परिणामलाई सहर्ष स्वीकार गर्दै स्वच्छता, इमान्दारिता, पारदर्शिता र जिल्लाको बिकास र समृद्धिको पक्षमा मलाई मतदान गर्नुहुने सम्पुर्ण मतदाता दाजुभाई दिदीवहिनीहरुलाई आभार प्रकट गर्दै तपाईहरुको अमुल्य मतको सम्मान गर्न चाहन्छु ।
मैले सानै उमेरदेखि आफनो सम्पुर्ण जीवन देश र जनताको लागी सर्मपित गरेर आफनो जन्म र कर्मभुमीको श्रीबृद्धि र बिकासमा आफनो सम्पुर्ण ध्यान, ज्यान र समय खर्चिदै आएको कुरा सर्बबिदितैछ । म एउटा पार्टीको कार्यकर्ता वा नेतामा सिमीत थिइन र छैन, मेरो राजनैतिक नेतृत्व र व्यक्तित्वको बिकास मेरो लागी थिएन, तपाईको लागी थियो । मन्त्री, मुख्यमन्त्री जस्तो गरिमामय ठाउँमा म कुनै स्वार्थ र लाभको लागी पुगेको थिइन, देश प्रदेश र जिल्लाको लागी थियो । मैले जे गरे इमान्दारपुर्वक गरे, धेरै गर्न सकिन होला, छोटो समयमा त्यो सम्भव पनि थिएन । तर मैले जिल्लाको बिकास र श्रीबृद्धिमा छोटो समयमा केही योगदान गरेकोछु । यसको उचित मुल्यांकन भएर यसपटक न्याय नपाएपनि भबिष्यमा न्याय पाउने आशा लिएकोछु । यसरी जिल्लाको बिकास र श्रीबृद्धिमा म प्रत्यक्ष रुपमा जोडिएको हुनाले मलाई भोजपुरले साझा सम्पत्तिको रुपमा ग्रहण गरेर जिल्लाको बिकास र समृद्धिमा भरपुर सदुपयोग गर्नेछ, त्यो कुरामा भोजपुर चुक्ने छैन भन्ने मैले ठानेको थिए तर म गलत सावित भए । जे होस चुनावमा हारजीत हुन्छ सामान्य र स्वभाविक कुरा हो एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार नेताको हैसियतले जनताको अभिमत अर्थात निर्वाचन परिणामलाई सहर्ष स्वीकार गरेकोछु । म पराजीत भएर मलाई केही फरक परेको छैन । तर जिल्ला र भोजपुरवासीलाई फरक पर्न गएमा पक्कैपनि अफसोच हुनेछ । म चाहन्छु त्यो नहोस । सबै मतदाता, सर्मथक शुभेच्छुकहरुलाई निर्वाचन परिणामका कारण निराश नहुन हार्दिक आव्हान गर्दै भबिष्य हाम्रै भएको हुनाले आगामी दिनमा नयाँ ढंगले अगाडी वढने बिश्वास दिलाउन चाहन्छु ।
म भोजपुरबासी मतदाता दाजुभाई दिदीबहिनीहरुलाई बिशेष धन्यवाद भन्न चाहन्छु । अनेकन भ्रम, कुप्रचार, चरित्र हत्या, पैसा वितरण, भोजभतेर, आग्रह पुर्वाग्रह, घात अन्तर्घात र तमाम षडयन्त्रका बावजुद स्वच्छता, इमान्दारीता, पारदर्शिता र बिकासको पक्षमा मतदान गरेर माया गर्नुभएकोछ । यो माया र बिश्वास सधैभरी रहने बिश्वास लिएकोछु । तपाई मतदाताको माया, बिश्वास सहितको अमुल्य मतलाई शीरमा राखेर जिल्लाको बिकास र समृद्धिमा सधै निरन्तर लागी रहने बिश्वास दिलाउन चाहन्छु ।
मेरो पार्टी नेकपा (एमाले) का सबै नेता कार्यकर्ता जो सफा मनका साथ इमान्दारपुर्वक खटेर योगदान गर्ने सवैलाई उच्च मुल्यांकन गर्दै प्रशंसा गर्न चाहन्छु । कोही नेता र कार्यकर्ताहरुलाई किंचित निराश नहुन आव्हान गर्न चाहन्छु । बरु नयाँ ढंगले अवको लडाईको तयारीमा उच्च मनोवलका साथ रहन समेत आव्हान गर्न चाहन्छु । निर्वाचन परिणामको पार्टीभित्र निर्मम समिक्षा हुनेनैछ । त्यसमा समेत जिवन्त रुपमा सहभागी हुन सबैलाई आव्हान गर्दछु ।
निर्वाचनमा मलाई बिभिन्न हिसावले शुभेच्छा, सदभाव, आर्शीवाद सहित सहयोग गर्ने मेरा आफन्तजन, अग्रज, समकालिन मित्रहरु र सवै सहयोगी पबित्र हातहरुलाई नमन गर्दै धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।
अन्तमा सम्पुर्ण जिल्लावासी मतदाता, निर्वाचनमा भाग लिने राजनितीक दल, सवै उमेदवारहरु, मुख्य निर्वाचन अधिकृतको कार्यलय, स्थानीय प्रशासन, सुरक्षा निकाय, निर्वाचनमा खटिने सम्पुर्ण कर्मचारी, मिडियाकर्मी, नागरिक समाज लगायत सवैमा हार्दिक आभार प्रकट गदै धन्यवाद भन्न चाहन्छु । प्रतिनिधीसभा र प्रदेशसभाका बिजेता उमेदवारहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।
शेरधन राई
प्रतिनिधीसभा सदस्य उमेदवार, भोजपुर
२०७९ मंसिर ९ गते ।