एक महिनाभित्र देखिनेगरी काम गरेर देखाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् ।

ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘यो मन्त्रिपरिषद्को विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएको मन्त्रीले एक महिना भित्र कमसेकम केही न केही फरक देखाउनुपर्यो सबै काममा । ६ महिना भित्रमा यो मन्त्रिपरिषद्ले काम गर्यो र गर्ने भयो भनेर ढुक्क हुने विश्वास दिलाउनुपर्यो । एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै काम भिजिबल रुपमा परिवर्तन आउनुपर्यो । परिणाममुखी देखिनुपर्यो भनेर निर्देशन दिनुभएको छ । त्यसैले सबै मन्त्रीले एक आपसमा सहकार्य गरेर काम गर्नुहोस्, हामीलाई अहिले असफल हुने छुट छैन । त्यसैकारण राष्ट्रिय स्वाधितनका लागि मुलुकलाई बलियो बनाउनका लागि तथा मुलुकको उत्पादकत्व बढाउनका लागि उत्पादनसँग जोडिएका मन्त्रालयसँग समन्वय हुनुपर्यो । निर्माण कार्य हुने मन्त्रालयका विचमा पनि समन्वय हुनुपर्यो । समन्वयकारी भूमिका निर्वाह गरेर परिणाममुखी नतिजा निकाल्ने काममा अहिलेको मन्त्रिपरिषद्ले लाग्नुपर्छ भनेर निर्देशन दिनुभएको छ ।’

प्रवक्ता गुरुङले एक अर्को मन्त्रालयका बीचमा समन्वय गरेर मात्रै काम गर्न सबै मन्त्रीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएको पनि बताए ।