संरक्षणको पर्खाइमा रोग निको पार्ने पानी

लोकेन्द्र खनाल, रुकुम– रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ ।

घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५ मिनेट जति लाग्छ । सानीभेरी नदीसँगै तातोपानी क्षेत्र अवस्थित छ । तातोपानी क्षेत्रको पानी र सानीभेरीको पानीले फरक अनुभूति दिन्छ । सानीभेरीको पानी चिसो छ भने उक्त क्षेत्रको पानी तातो छ ।

सुन्दा विश्वास लाग्दैन तर यहाँ काँचो फुल पानीमा राख्दा १०÷१५ मिनेटमै पाक्छ । तातोपानी छ कि पुस–माघको जाडोमा पनि यहाँको उमालेको जस्तै हुन्छ । मुलबाट आएको तातोपानी पिउने र नुहाउने गर्नाले विभिन्न रोगसमेत निको हुने यहाँका बासिन्दाको विश्वास छ । परम्परादेखीकै यस कुण्डमाका कारण धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुन लागेको छ ।

यहाँ कपडा धुने र नुहाउने मानिसको भीड लाग्ने गर्दछ । पानी निकै तातो हुँदा फुल, चाउचाउलायतका खाद्यबस्तुसमेत पाक्ने हँुदा पुस–माघको चिसो समयमा यहाँ आएर नुहाउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी दिलीप खड्का बताउँछन् । विभिन्नखाले रोग निको हुने हुँदा यस क्षेत्रको महत्व बढ्दै गए पनि तर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको उनको भनाइ छ ।

यसको प्रचार–प्रसार गर्न आवश्यक भएको अर्का थानीयवासी गोपिराम खड्का बताउँछन् । परापूर्वकालमा नदी भासिँदै गएपछि तातोपानी भेटिएको तर तातो पानीको उत्पतिबारे अहिलेसम्म पत्ता नलागेको स्थानीय गोपिराम खड्का बताउँछन् । यहाँ बन्दुकको बारुद जस्तै गन्ध आउने भएकाले कुनै धातुको खानी समेत हुनसक्ने उनको भनाइ छ । तातोपानीको मुहानमा शिव भगवान्को मन्दिर निर्माण गरिएको छ । ‘पहिला यहाँ आउने व्यक्तिले बगरका ढुंगामा पैसा छाड्थे’, उनी भन्छन्, ‘उनीहरूले मन्दिरमै पैसा राखून् भन्ने उद्देश्यले मन्दिर निर्माण गरिएको हो ।’ प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन यहाँ आउनेहरू रातभरि पूजाआजा गर्ने र नाचगान गर्ने गर्दछन् ।

संरक्षण भएन

यो स्थान सानीभेरी नदीसँगै छ । बर्खाको समयमा नदीमा पानीको बहाव उच्च भई तातोपानीसम्म पुग्छ । जसले गर्दा पछिसम्म यो क्षेत्र पुरिन सक्ने खतरा रहेको स्थानीयवासी बताउँछन् । उनीहरूले यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ‘वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै जाँदा तातोपानी बगरमा परिणत हुँदै गएको छ’, सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल भन्छिन्, ‘गाउँपालिकाले मुहान संरक्षणका लागि पहल थालेको छ ।’ गाउँपालिकाले तातोपानी संरक्षणका लागि एक लाख छुट्याएको उनी बताउँछिन् । यसको संरक्षणका लागि गाउँपालिकाले प्रत्येक वर्ष ध्यान पु¥याउने अध्यक्ष बरालको भनाइ छ ।

तातोपानी संरक्षणपछि यहाँ पर्यटक आउने अपेक्षा राखिएको छ । परापूर्वकालदेखि नै प्रसिद्ध तातोपानीको नामले चिनिएको उक्त स्थानको उचित संरक्षण र कुनै व्यवस्थापन नहुँदा नदी बगरको माटोले पुरिने अवस्थामा पुगेको छ । सानोभेरी नदी छेउको किनारमै रहेको पूर्वी रुकुमको पोखरामा अवस्थित तातोपानी क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटनका लागि एक ऐतिहासिक स्थानका रूपमा लिने गरिन्छ । सानीभेरीको बाँध बाध्ने, तातोपानी फैलिएको क्षेत्रफल वरिपरि पर्खाल लगाउने, पर्खालभित्र आकर्षक बनाउने, नुहानका लागि पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ ।