काबुल हमलामा मृत्यु हुनेको संख्या १०० पुग्यो

काबुल (एएफपी)– अफगानिस्तानको काबुलमा शनिबार भएको एम्बुलेन्स बम विस्फोटनमा परी मृत्यु हुनेहरुको संख्या बढेर एक सय पुगेको छ ।

शनिबार भएको सो आतङ्ककारी हमलामा ९५ जनाको मृत्यु भएकोमा उक्त सङ्ख्या बढेर आइतबार १०० पुगेको बताइएको छ ।

त्यसैगरी सो घटनामा घाइतेको सङ्ख्या १६३ रहेको बताइएको छ । अफगानिस्तानका सरकारी अधिकारीहरुले सो जानकारी दिएका छन् ।

घाइतेमध्ये अधिकांश पुरुष रहेका छन् । सामजिक सञ्जालहरुमा घटनाको चर्को निन्दा भएको पाइएको छ ।

काबुलको मध्यभागमा अत्यधिक भिड भएको ठाँउमा विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोटन गराउदा कम्तीमा १०० जनाको मृत्यु भएको हो ।

घटनामा परी घाइते भएकामध्ये केहीको अस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझै पनि बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सो भीषण आतङ्ककारी हमलाको संयुक्त राष्ट्रसंघलगायत विश्वका नेताहरुद्वारा विश्वव्यापी रुपमा निन्दा भएको समाचारमा जनाइएको छ ।