यी हुन् गाडी सुविधा नदिँदा माइन्युट च्यात्ने उपमेयर

जनकपुर (पास)– धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले आफूलाई गाडी सुबीधा नदिएको भन्दै नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छिन् ।

बैठकको प्रस्ताव राख्ने क्रममा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् । माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।

नगरपालिकामा हाल सुबीधास्वरुप एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएकामा उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा चाहीएको माग गर्दै आएकी थिईन् ।

तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि ‘मलाई गाडी दिने विषय किन प्रस्तावमा नराखेको’ भन्दै माइन्युट च्यातेर फालेकी छन् ।

उपमेयर यादवले धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिएको तर आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको रिस ब्यक्त गरिन् ।

नगर कार्यपालिकाको बैठकमा आफूले १० बुँदा राखे पनि बैठकको प्रस्तावमा एउटा पनि विषय उल्लेख नभएकोले माइन्युट च्यातेको बताइन् ।

उनले भनिन्, ‘‘मेरो अरु प्रस्ताव नभए गाडीको मात्रै भए पनि लेखिदिनुस्, म स्कुटी लिएर गाउँगाउँ कसरी जाने भनेँ । तर नगरसभा अगाडि केही पनि हुँदैन भन्नुभयो’ उनले थपिन्, ‘म सन्तुष्ट भइनँ । त्यसैले सिग्नेचर गर्दिन भनेर च्यातिदिएँ ।’