लोकप्रिय कार्यक्रम ‘साझा सवाल’ बन्द

काठमाडौं (पास)– बीबीसी मिडिया एक्सनको साप्‍ताहिक बहसको कार्यक्रम ‘साझा सवाल’ बन्द भएको छ । १० वर्ष पहिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६४ मंसिर २ गते विराटनगरमा बहस गरेर सुरु भएको ‘साझा सवाल’को अन्तिम कार्यक्रम पनि विराटनगरमै गएर सकिएको हो ।

पहिलो कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई पहिलो प्रश्न गर्ने रेजिना निरौलासहित एमाले नेता लालबाबु पण्डित र कांग्रेस नेता मिनेन्द्र रिजाललाई अतिथिका रुपमा बोलाइएको थियो ।

कार्यक्रमले ‘एक फन्को पूरा गरेको’ भन्दै साझा सवालले ट्‍विट गरेको छ ।

प्रश्न बोकेका नागरिक समक्ष जवाफदेहि अधिकारी उपस्थित गराउने साझा सवाल कार्यक्रमले अहिलेलाई विश्राम लिएको छ । यो श्रृङ्खलाको अन्तिम कार्यक्रम विराटनगरबाट ८० सहभागीका साथ लालबाबु पण्डित, मिनेन्द्र रिजाल र पहिलो साझा सवालमा पहिलो प्रश्न सोध्ने रेजिना निरौला सहभागी थिए ।

कार्यक्रम ‘अहिलेलाई बन्द भएको’ भन्ने साझा सवालको ट्‍विटले कार्यक्रम भविष्यमा पुनः सञ्चालनमा आउने हो कि भन्ने भ्रम पनि दिएको छ।

रेडियो र टेलिभिजनबाट प्रशारण हुने ‘साझा सवाल’ बाट प्रस्तोता विद्या चापागाईँले ५२६ औँ अंकदेखि बिदा लिएकी थिइन् । उनी अहिले हेर्ने कथा नामको नयाँ मिडिया प्रोजेक्टको तयारीमा छन् ।