आज प्रधानमन्त्री पदबाट देउवाले राजीनामा दिँदै, ओली आजै प्रधानमन्त्री बन्दै

काठमाडौं (पास)– आफ्नो जीवनकालमा चौँथो पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री पदबाट बाहिरिनु अघि उनले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । देउवाले राजीनामा दिएपछि आजै बाम गठबन्धनले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दावी प्रस्ताव गर्ने प्रस्ताव गरिने र प्रधानमन्त्री नियुक्ति गरिने छ ।

प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । तर, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहान ९ बजे यो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक राखिएको र सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।