बुधबारदेखि मेलम्चीको काम ठप्प

काठमाडौं– मेलम्ची खानेपानीका कामदारहरूले तलब नपाएसँगै बुधबारदेखि काम ठप्प बनेको छ । इटालियन ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले तीन महिनादेखि तलब उपलब्ध नगराएपछि कामदाहरूले काम ठप्प पारेका हुन् ।

हालसम्म आफूहरूलाई तीन महिनादेखिको पूरै तलब मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुख्य ठेकेदार रिभेन्नाले नदिएपछि कामदारले निर्माणका काम रोकेको मेलम्ची खानेपानी समितिका एक जना कर्मचारीले जानकारी दिएका छन् । उनले कर्मचारीले तीन महिनासम्मको पूरै तलव नदिएसम्म कुनै पनि हालतमा काम अघि नबढाउने पनि बताएका छन् । दाम पाइएपछि मात्र काम थालिने भन्दै उनले तत्काल काममा नजाने बताएका छन् ।

समितिले बताएअनुसार अहिले आयोजनामा एक सय जना कामदारहरहरू खटिएका छन् । अब दुई सय ७५ मि. सुरुङ मात्रै खन्न बाँकी रहेको छ । ग्याल्थुम–सिन्धु खण्डको दुई सय २० मिटर र ग्याल्थुम अडिटको जङसनको ५५ मिटरसहित दुई सय ७५ मिटर सुरुङमार्ग खन्ने काम बाँकी छ ।कामदारहरूले टनेल खन्ने काम, सुरुङमार्ग फिनिसिङ र भूइँ ढलान, हेडबक्स निर्माणलगायत कामहरू गर्दै आएका थिए । लामो समयदेखि तलब नदिएपछि कम्पनीलाई तलब पाउन पटक–पटक ताकेता गर्दा पनि तलब नपाएपछि उनीहरूले आन्दोलनमा उत्रिएका हुन् ।

ठेकेदार कम्पनीले कामदारहरूलाई समयमै तलब नदिएपछि आगामी बैशाख वा असोजभित्र राजधानीबासीलाई दैनिक १७ करोड लिटर पानी उपलब्ध गराउने सपना हुने भएको छ ।
राजधानीमा मेलम्चीको पानी कहिले पानी आउला ? र, तिर्खा मेटौँला भनर बसेका राजधानीबासीहरूको आसा फेरि ढुल्मुलिएको छ । अम्बाथानदेखि सुन्दरीजलसम्मको कुल २७.५ सुरुङमार्गमध्ये हालसम्म २७.२२५ कि.मी. सम्पन्न भइसकेको समितिले जानकारी दिएको छ ।रिभेन्नाभन्दा अघि आयोजनाको ठेक्का पटक–पटक गरी विभिन्न निकायसँग सम्झौता गरिएको थियो तर सफल हुन सकेको थिएन ।

सुरुमा मेलम्चीको सुरुङ खन्न नेपाल सरकारले सन् २००१ मा एसियाली विकास बैंक (एडिबी) सँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार सन् २००७ मा उपत्यकामा पानी ल्याइसक्नुपर्ने थियो तर, सो अवधिभित्र सुरुङ निर्माण काम नगरी स्थगित हुन पुग्यो । त्यसपछि सरकारले एडिबीसँग पुनः सन् २००८ मा आयोजना पुनर्संरचना गर्ने सहमति ग¥यो र आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखियो । तर, लक्ष्यअनुसार काम सफल भएन । यसरी एडिबीसँग सम्झौताअनुरूपका काम नभएपछि सरकारले उससँगको सम्बन्ध तोड्यो र सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवेसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार २०१३ सेप्टेम्बरभित्र कम्पनीले सुरुङ निर्माण सम्पन्न गर्ने निर्णय भयो तर, चिनियाँ सो कम्पनीले साढे ६ किलोमिटर मात्रै सुरुङ खनेको थियो । यसरी चिनियाँ कम्पनीले पनि काममा ढिला सुस्ती देखाएपछि सन् २०१२ सेप्टेम्बर २५ मा ठेक्काको काम रोकेर इटालियन कम्पनी सिएमसीलाई सरकराले सुम्पेको थियो ।

सम्झौताअनुसार सन् २०१६ अक्टुबरसम्म सुरुङ सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यहि बेला भूकम्प र नाकाबन्दीको समस्या देखाउँदै कम्पनीले काम सम्पन्न हुन समय लाग्ने बताएको थियो । भूकम्प र नाकाबन्दीपश्चात् कम्पनीले सन् २०१७ डिसेम्बरसम्ममा मेलम्ची आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।