काँग्रेसबाट उपसभामुखमा भुसालले दिइन् उम्मेदवारी

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।यसअघि काँग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन ।

यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले आज उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित थिए ।

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए । उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसक्का छन् ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ ।