रोनाल्डो ‘फुटबल प्लेयर अफ दि इयर’ घोषित

लिस्वोन (एजेन्सी)– स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पोर्चुगलको ‘फुटबल प्लेयर अफ दि इयर’ घोषित भएका छन् । रोनाल्डोले सन् २०१७ को पोर्चुगिज बर्ष फुटबलर बन्दै यो उपाधि जितेका हुन् ।

रोनाल्डोलाई सोमबार राति लिस्बनमा आयोजित एक बिशेष समारोहमा यो अवार्ड प्रदान गरिएको हो । पोर्चुगिज फुटबल फेडेरसन, नेसनल एसोसिएसन अफ पोर्चुगिज कोचेज र युनियन अफ प्रोफेसनल फुटबल प्लेयरको संयुक्त आयोजनामा हुने यो अवार्ड रोनाल्डोले लगातार दोस्रो पटक जितेका हुन् ।

रोनाल्डोले यो उपाधि जित्ने क्रममा म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भा र स्पोर्टिङ सिपिका गोलरक्षक रुइ प्याट्रिसिओलाई पछि पारेका हुन् । लगातार दोस्रो बर्ष यो उपाधि जितेपछि रोनाल्डोले आफ्नो लागि ऐतिहासिक वर्ष भएको टिप्पणी गरे । रोनाल्डोले भने, ‘व्यक्तिगत स्तर र व्यक्तिगत रुपमा यो बर्ष अविस्मरणीय वर्ष रह्यो, हामी विश्वकपमा छनोट भयौ र रियल मड्रिडको लागि समेत ऐतिहासिक बर्ष रह्यो ।’

रुस विश्वकपमा पोर्चुगललाई छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले सन् २०१७ मा रियल मड्रिडबाट ५ उपाधि जितेका थिए । यस्तै रोनाल्डोले सन् २०१७ मा बालोन डी’ओर र फिफा बर्ष खेलाडीको उपाधि समेत जितेका थिए ।