जसले विश्वकप जिताए उनकै पितालाई गाली किन ?

काठमाडौं– विश्वकप क्रिकेट इङल्याण्डले जितेको छ । यो खेलमा जीतको हिरो इङल्याण्डका अलराउण्डर बेन स्टोक्स बने । जब न्यूजिल्याण्डले इङल्याण्डका टप बर्डर ब्याट्सम्यानलाई आउट गरिसकेको थियो यस्तो कठिन परिस्थितिमा आएका बेन स्टोक्स क्रिजमा जमे । उनको ८४ रनको नटआउट इनिङले खेललाई बराबरीसम्म पुर्यायो । यसपछि सुपरओभरमा बनेका १५ रनमध्ये टोक्सले ८ रन बनाए । तर, खेल सुपरओभरमा पनि टाइ भयो । यस्तोमा विश्वकप विजेताको फैसला बाउण्ड्रीको आधारमा भयो । फाइनलमा बेन स्टोक्सले २ छक्कासहित ७ बाउण्ड्री लगाएका थिए । इङल्याण्डको जीतमा उनको बाउण्ड्रीको ठूलो योगदान रह्यो । यही कारण इङल्याण्डका कप्तान इयान मोर्गनले स्टोक्सलाई सुपरम्यानजस्तै भनेका थिए ।

रोचक कुरा स्टोक्सको जन्म न्यूजिल्याण्डको क्राइस्टचर्चमा भएको थियो र उनका पिता न्यूजिल्याण्डको राष्ट्रिय टिमबाट रग्बी खेल्ने खेलाडी थिए । स्टोक्स जब १३ वर्षका थिए त्यतिबेला उनको परिवार इङल्याण्ड बसाइ सर्यो । त्यतिबेला उनको परिवारले शायदै सोचेका थिए होलान् कि स्टोक्सका कारण न्यूजिल्याण्डले विश्वकप हार्नेछ । कमसेकम उनका पिता गेरार्ड स्टोक्सले त पक्कै सोचेका थिएनन् होला । गेरार्ड केही वर्ष इङल्याण्ड बसेपछि आफ्नो शहर क्राइस्टचर्च फर्के । आइतबार गेरार्डले आफ्नै घरमा टिभीमा विश्वकपको फाइनल हेर्दै थिए र न्यूजिल्याण्डको जीतको कामना गरिरहेका थिए । टिभी कमेन्टेटर नासिर हुनेनले पटक पटक भनेका थिए ‘पिता न्यूजिल्याण्डको जीतको कामना गरिरहेका होलान् तर छोरा इङल्याण्डलाई जिताउनेतर्फ अघि बढिरहेका छन् ।’ बेन स्टोक्सका पितालाई पनि आफ्ना छोराको शानदार खेलमा गर्व छ तर न्यूजिल्याण्डको वेबसाइट स्टफमा एउटा रोचक रिपोर्ट छापिएको छ कि कसरी बेन स्टोक्सका पिता विश्वकप फाइनलपछि न्यूजिल्याण्डमा सबैभन्दा बढी घृणा गरिने पिता बने ।

विश्वकपको फाइनल पहिलो पटक होइन जब स्टोक्सले खेल जिताउने इनिङ खेले । यो विश्वकपमा उनले कम्तीमा ५ पटक इङल्याण्डको लागि जरुरी समयमा विकेटमा टिकेर ब्याटिङ गरेका छन् । क्रिकेटलाई मूल स्वरुपमा हेर्ने कैयौं विश्लेषकको नजरमा बेन स्टोक्स सही अर्थमा क्रिकेटिङ अलराउण्डर हुन् । २८ वर्षका स्टोक्स दायाँहाते तीव्र गतिका बलर हुन् तर उनी मिडिल अर्डरमा बायाँ हातले ब्याटिङ गर्छन् । ५२ टेस्ट खेलमा स्टोक्सको नाममा १२७ विकेट र ६ शतक छन् । ९६ एकदिवसीयमा ७० विकेट र ३ शतक बनाएका छन् । टेस्टमा उनको सर्वाधिक स्कोर २५८ रन छ । तर, रोचक कुरा हिजोसम्म बेन स्टोक्स इङल्याण्डको क्रिकेटका ‘ब्याड ब्वाय’ थिए । २०१६ मा ब्रिस्टलमा एक नाइट क्ल्वबाहिर उनको हातपातको भिडियोले उनको यो पहिचान बनाएको थियो । उनी गिरफ्तार पनि भए र मुद्दा अदालतसम्म पुग्यो ।

कुनै पनि इङलिश र अस्ट्रेलियन क्रिकेटरको लागि एशेज सिरिज सबैभन्दा अहम मानिन्छ तर यो विवादका कारण उनी एशेज खेल्न पाएका थिएनन् । २०१६ को जूनमा मात्र स्टोक्स ४ पटक तीव्र गतिमा कार चलाएको दोषी पाइएका थिए । यो पहिलो पटक थिएन । २०११ मा स्टोक्स मदिराको नशामा डरहममा ट्राफिकसँग भिडेका थिए । २०१२ मा पनि पुलिसले उनलाई नशाको हालतमा पक्रेको थियो । २०१३ मा अस्ट्रेलिया खेल्न गएका उनलाई नशामा गाडी चलाएको दोषी पाइएपछि बीचमै फिर्ता पठाइएको थियो । यति हुँदाहुँदै पनि स्टोक्सले क्रिकेटको जन्मदाता इङल्याण्डलाई पहिलो विश्वकपको उपाधि दिलाउँदै नयाँ सुपरस्टार बनेका छन् । एजेन्सीको सहयोगमा