आर्मी क्लब विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर – विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप डे–नाइट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।हिजो साँझ भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको हो ।

डिफेन्डिङ च्याम्पियन अर्को विभागीय टिम निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।चार उत्कृष्ट अवसरलाई आर्मीले सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरसम्म धकेलिएको थियो ।

आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्त्वपूर्ण रहयो । उनले पेनाल्टी सुटआउटमा नेपाल पुलिसको एउटा प्रहार रोकिदिएका थिए । आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दीपक गुरुङ र विवेक बस्नेतको प्रहारले जाली चुम्यो । पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोष्टको दिशा लिन सकेको थियो ।

नीरकुमार राई र मानबहादुर परियारको प्रयास असफल भएको थियो । राईको प्रहार गोलरक्षक कुथुले रोकिदिए भने परियारको प्रहार बाहिरिँदा आर्मी भाग्यमानी ठहरियो ।खेलको म्यान अफदी म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । बिहीबार अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ ।