प्रेम राईलाई छुटाउन आवश्यक ९५ लाखमा ६९ लाख जुट्यो

काठमाडौं (पास)– साउदीको जेलमा रहेका इलामका प्रेम राईलाई रिहा गराउन ६९ लाख रुपैयाँ संकलन भएको छ । राईलाई नेपाल फर्काउन आवश्यक ९५ लाख रुपैयाँ क्षतिपुर्ति बापतको रकम मध्ये हालसम्म ६९ लाख रुपैयाँ जुटेको हो ।

प्रेम बचाऊ अभियान मूल समितिद्वारा खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखाको खातामा २५ लाख, कृष्ण कँडेलद्वारा सञ्चालित कार्यक्रम इन्दे्रणी मार्फत ३० लाख, गल्फ कन्ट्री भातृ संगठन जिफण्टमार्फत ९ लाख र प्रेमका दाइ चक्रबहादुर राईको संयोजकत्वमा चलाईएको प्रेम बचाऊ अभियान कुवेतमा ५ लाख रकम संकलन भइसकेको प्रेम बचाऊ अभियान मूल समितिले जननएको छ । अहिले देश तथा विदेशमा प्रेम बचाऊ अभियान सुरु भएको छ ।

सन् २०१२ जुन १२ मा ‘क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौं’बाट साउदी गएका राई साउदीमा ‘अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालक थिए । रियादको जनदियाको पार्किङमा गाडी रोकेर साथी भेट्न गएका उनी भेटेर फर्किदा उनले गाडी पार्किङमा भेटेनन् । हराएको गाडी साउदीको रोमा भन्ने स्थानमा दुई दिन पछि तोडफोड भएको अवस्थामा भेटिएको थियो । गाडीमा बोकेको सामान पनि थिएन भने सिसा फुटेको र सामान हराएकोमा प्रेमलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिइएको थियो ।

सजाय भुक्तान गरेर घर फर्किने तयारी रहेका प्रेमलाई कम्पनीले फेरि आफूले दिएको निर्देशन तथा बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दावी र्गयो । त्यसपछि अदालतले तीन लाख १० हजार रियाल अर्थात झण्डै ९५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । हाल देश विदेशबाट उनलाई नेपाल फर्काउनका लागि रकम जुटिरहेको छ ।

प्रेमलाई नेपाल फर्काउनका लागि अझै २६ लाख संकलन गर्न बाँकी रहेको समितिले जनाएको छ । रकम संकलनका लागि नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखामा ०२९०५०३०२८५१७९ नम्बरको खाता खोलिएको छ । बाँकी रकम पनि चाँडै नै संकलन हुने र राई रिहा भएर स्वदेश फर्किनेमा परिवार आशावादी रहेको छ ।