वैदेशिक रोजगार ठगीबाट युवा झनै पीडित

मीना घोरसाइने, काठमाडौं– झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई दुई लाख रुपैयाँ दिएका थिए ।

गत चैत महिनामा कोरिया जाने मिति तय गरियो । पीडित यादव काठमाडौं आए तर उनलाई एकछिन लजमा बस्दै गर्नु म आउँछु भनेर गएका दनुवार २० दिन बितिसक्दा पनि फर्कैर आएनन् ।

पीडित यादव र खड्कासँग न लजमा तिर्ने पैसा नै थियो नत खानका लागि । दुबैजना साउदीमा आठ वर्ष सँगैबसेर काम गरी नेपाल फर्किएका थिए । नेपाल फर्किएको दुई वर्षपछि दनुवारले यादव र खड्कासँग कोरिया पठाउने काम आफूले गरेको भन्दै रकम लिएका थिए ।

एक महिनासम्म अलपत्र परेपछि पीडित दुवै महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरीका लागि आए । ‘साथी भनेर विश्वास गर्नु हाम्रो सबैभन्दा ठूलो गल्ती भयो’, पीडित यादवले भने, ‘रकम फिर्ता दिन्छु भनी उसले फोन त गरेको थियो, तर मोबाइल नै बन्द गरेर बसेपछि हामी प्रहरीसम्म आइपुगेका हौँ ।’ कहिलेकाहीँ पीडकको फोन लागे पनि उसले परिवारलाई उठाउन दिने गरेको उनले भने । दुबैजनाले विद्यार्थी भिसामा कोरिया जानका लागि दनुवारलाई रकम दिएका थिए ।

यादव र खड्का वैदेशिक रोजगारमा ठगिएका उदाहरणका पात्रमात्र हुन् । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७४÷७५ चैत मसान्तसम्मको तथ्यांकअनुसार व्यक्तिगततर्फ ८ सय १८ र संस्थागततर्फ ७ सय ६९ गरी जम्मा एक हजार ५ सय ८७ थान वैदेशिक रोजगारका क्षेत्रमा भएका ठगीका उजुरी परेका छन् ।

ती उजुरीमध्ये व्यक्तिगततर्फ अदालतमा १ सय ५७ मुद्दा दायर भएका छन् भने संस्थागततर्फ १ सय ७४ मुद्दा दायर भएका हुन् । संस्थागत र व्यक्तिगतमात्र नभई अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउन खोजेमा तिनीहरुलाई सिधै विभागले कारवाही गर्ने गरेको छ ।

इजाजत प्राप्त संस्थाबाट भएका गल्तीको उजुरी विभागमा आउने गरेको विभागका सूचना अधिकारी शशिकुमार लम्सालले बताए । तीमध्ये कहिलेकाहीँमात्र कामदारको गल्तीका उजुरी भेट्ने गरेको उनले जानकारी दिए ।

‘प्राप्त उजुरीमध्ये कामदारको पक्षमा नै धेरैजसो सुनुवाइ हुने गरेको छ ।’ उनले भने । वैदेशिक रोजगार विभागले ठगीमा परेकालाई उद्धार गर्दै पनि आएकोे उनले जानकारी दिए । विभागले प्रहरीको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विभागमा आएका उजुरीमाथि कारवाही गर्ने गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा ६० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारसँग सम्बन्धित ठगीका मुद्दा दर्ता हुने गरेको परिसरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । ‘छिट्टै पैसा कमाउने अभिलाषाले नै मानिसहरु ठगीमा पर्ने गरेका छन्’, उनले भने ।

वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनु जरुरी छ । सरकारले ठगी गर्ने व्यक्ति तथा संस्थालाई कडा कारवाही गर्ने कानून बनाए यस्ता ठगीका घटना कम हुने थिए ।