नेपालगञ्ज गोल्डकपको तयारी पुरा

नेपालगञ्ज– टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकपको तयारी पूरा भएको छ । बाँके जिल्ला फुटबल संघले नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदानमै पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहने जानकारी गराए ।

नेपालगञ्ज–११, सशस्त्र प्रहरी बल, लाल रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव र सिएमजी संकटा क्लवले तेस्रो नेपालगञ्ज गोल्डकपमा सहभागिता जनाउदै छन् । प्रतियोगिताको उद्घाटन खेल नेपालगञ्ज–११ र सशस्त्र प्रहरी बलका बीचमा हुने शाहीले बताए ।

नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीअन्तर्गत मर्मत सम्भार भएपछि गोल्डकप खजुरामा गर्नु परेको हो । संघका अध्यक्ष शाहीले खजुरा क्षेत्र फुटबलको क्रेज भएको ठाउँ भएकाले गोल्डकप उत्साहजनक हुने बताए ।

यसपालीको गोल्डकपको टिकटमा भने ‘स्वविवेक’ प्रयोग गरिएको छ । फुटबल संघलाई सहयोग गर्न चाहनेले टिकटको पैसा दिन सक्छन् । गतवर्ष संघले टिकटबाट नै पाँच लाख रुपैया कमाएको थियो ।

न्यू डाँफे क्लवले ठूल्ठूला प्रतियोगिता गरिरहेको मैदान भएकाले नेपालगञ्ज रंगशालाको विकल्प डीगाउँको मैदान भएको आयोजकले बताए । एन्फाका सदस्य प्रदेशसिंह राठौरले खजुरा क्षेत्रमा फुटबल गराउदा दर्शकको कमी नहुने बताए । एन्फा ग्रासरुटबाट फुटबलको विकास गर्न लागि परेको समेत राठौरले बताए ।

वडाध्यक्ष एवं न्यू डाँफे क्लवका अध्यक्ष तीलकबीर सुनारले रातदिन खटेर मैदानलाई राम्रो बनाएको बताए । ‘खजुरा फुटबलको हव हो । हामी आफैले पनि ठूल्ठूला प्रतियोगिता गराइसकेका छौं । यो गोल्डकपमा नेपालगञ्जमा भन्दा बढी दर्शक आउँछन्, सुनारले भने ।

प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणाले गर्ने तयारी भएको छ । उद्घाटन खेल गर्ने दुवै टोली तम्तयार अवस्थामा रहेका छन् । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले सिनियर र जुनियर खेलाडी मिलाएर टोली ल्याएको बताए । एपीएफको धेरै सिनियर टोली नुवाकोटमा जारी गोल्डकप खेलिरहेका छन् । ‘खेलाडीहरु मिलाएर ल्याएका छौं, श्रेष्ठले भने, हामी अगाडि जान सक्छौं ।’

नेपालगञ्ज–११ ले पनि ए डिभिजन खेलेका खेलाडीहरु ल्याएको छ । व्यवस्थापक गान्धी हमालले मनाङबाट खेल्ने केही खेलाडी ल्याएको बताए । ‘टोली टीम बनाउने कोसिस गरेका छौं । पहिलो र दोस्रो भन्दा यसपाली आशा पनि धेरै गरेका छौं, व्यवस्थापक हमालले भने, अन्तिमसम्म पुग्ने लक्ष्य छ ।’ प्रतियोगिताको उद्घाटन सोमबार चार बजे हुनेछ ।