असार १५ र दही चिउराको महत्व

काठमाडौं– नेपाली परम्पराअनुसार असार १५ को दिन खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने गरिन्छ । असार १५ कै दिन रोपाईं गरी दही चिउरा खानाले गति परिन्छ भन्ने विश्वासअनुरूप पनि खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गरिन्छ।

दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्‍हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् । राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ ।

उसो त खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आजको दिन दही चिउरा खाएर मनाउने गर्दछन् । हामीले मनाउने विभिन्न चाड पर्वको छुट्टै मूल्य मान्यता भएपछि यस दिन खाने परिकारको पनि विशेष महत्व हुन्छ । आजका दिनमा खाइने दही चिउराले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउने गर्दछ ।

दही चिउराको सम्बन्ध

दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ जसका कारणले दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ । दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ । दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ । दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रुपमा दहीको सेवनले हड्डीसम्बन्धि रोग लाग्नबाट जोगाउँछ । खानामा दही समावेश गर्दा यसले शरिरलाई रिल्याक्स हुन मद्दत गर्दछ । एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।

त्यसैगरी चिउरामा भिटामिन ए, सि, क्याल्सिम र आइरनको प्रचुर मात्रा पाइन्छ । चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ । यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ । चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरिरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ । चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् भने चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ ।