पर्यटकीय बसपार्क अब सोह्रखुट्टेमा

काठमाडौँ– तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क आजदेखि सोह्रखुट्टेमा सारिएको छ ।

काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सो काम भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले बसपार्क सारिएको बताउँछन् ।

दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने ठाउँमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको थियो’, उनी भन्छन् ।

हाल कान्तिपथबाट पोखरा र चितवनको सौराहाका लागि झण्डै १०० बस आवतजावत गर्दै आएका छन् भने दैनिक करीब तीन हजार यात्रु ओहोरदोहोर गर्छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपालका उपाध्यक्ष ढकनाथ काफ्ले कान्तिपथबाट पर्यटकीय बसपार्क सार्दा पर्यटकलाई समस्या हुने बताउँछन् । ‘सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, यसरी बसपार्क सार्दा उक्त लक्ष्य पूरा हुन गाह्रो हुने देखिन्छ’, उनी भन्छन् ।

सरकारले पर्यटकीय बसका लागि छुट्टै बसपार्क निर्माण नगर्दासम्म कान्तिपथबाटै सवारी सञ्चालन गर्न पाउनुपर्ने उनको भनाइ छ । लामो समयदेखि व्यवसायीले बसपार्कका लागि पहल गरे पनि आवश्यक जग्गा नहुँदा अहिले अस्थायी रुपमा सोह्रखुट्टेको सडकमा उक्त बसपार्क सारिएको हो ।