गायिका मिलन नेवारको एल्बम सार्वजनिक

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले शुक्रबार यहाँ आयोजित एक समारोहमा गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’ (अडियो) को विमोचन गरेका छन् ।

भारतको आसाममा जन्मेका गायिका नेवार नेपाली गीत सङ्गीतको प्रवद्र्धनमा दशकौँदेखि सक्रिय छिन् । झन्डै १३ वर्षको उमेरदेखि नै गीत गाउन शुरु गरेकी नेवारको गीती एल्बम मिलन यात्रामा सात गीत छन् । जसमा सङ्गीत राजु सिंहको र शब्द योगेन्द्रमणि दाहालको छ ।

विभिन्न १२ भाषामा दुई हजारभन्दा बढी गीत रेकर्ड गराइसकेका गायिका नेवार नातिकाजी लोकप्रिय सङ्गीत पुरस्कारलगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।

सो अवसरमा गृहमन्त्री थापाले नेपालको साहित्य र कला क्षेत्रको विकासमा गायिका नेवारको विशिष्ट योगदान रहेको बताउँदै मुलुकको कला, संस्कृति र गीत–सङ्गीतको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, गुरुदेव कामतलगायतले गीत–सङ्गीतका विविध क्षेत्रमाथि प्रकाश पारे ।

गायिका नेवारले आफूले भारतको आसाममा रहेर पनि नेपालको साङ्गीतिक क्षेत्रको विकासका लागि काम गरिरहेको धारणा व्यक्त गरिन् ।