‘फाल्गुनन्द पथ’को अवधारणा

भद्रपुर– राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्म लिएको, ज्ञान प्राप्त गरेको र समाधि लिएको ऐतिहासिक स्थानलाई धार्मिक मार्गमा समेटेर ‘फाल्गुनन्द सर्किट’ बनाउन सके विश्वभरिका पर्यटकको आकर्षण बढ्ने सम्भावना छ ।

किरात धर्मावलम्बीको महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो भने २००५ साल चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए ।

झापा, इलाम र पाँचथर जिल्लाका स्थानीय तह मिलेर ‘फाल्गुनन्द सर्किट’को निर्माण र प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । यदि यो अवधारणामा जाने हो भने विश्वभरिका किरातको धार्मिक केन्द्र बन्ने र यसबाट नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थपिने स्थानीयवासी प्रेम गिरीको धारणा छ ।

राष्ट्रिय विभूति फाल्गुनन्दले दश थुमका लिम्बू र १७ थुमका किरातीलाई आजभन्दा ८८ वर्ष अघि पाँचथरको लब्रेकुटीमा बृहत् चुम्लुङ (भेला) गराई तत्कालीन समाजमा भएका विकृति, विसङ्गति र कुसंस्कारलाई हटाउन सत्यधर्म मुचुल्कामा सहीछाप गराएको घटना चर्चित छ ।

किरात समुदायमा माँसाहार, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिनुभएको सन्देशका कारण उनलाई महान् समाज सुधारक मानिएको छ । उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको छ भने हुलाक टिकट प्रकाशित गरेको छ ।

इलामको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोका अनुसार ‘फाल्गुनन्द सर्किट’को प्रस्ताव सङ्घीय र प्रदेश सरकारसमक्ष औपचारिक रुपमै पेश भइसकेको छ । यस अवधारणामा झापाको अर्जुनधारा नगरपालिका, इलामको माई नगरपालिका, इलामकै माङ्सेबुङ गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई समेट्ने प्रस्ताव गरिएको छ ।

किरात धर्म र संस्कृतिका अध्येता भगिहाङ नेम्वाङ महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनाम्बा र समाधिस्थल सिलौटीको धार्मिक विकास तथा प्रचारप्रसारमा सरकारको ध्यान नपुगेको बताउँछन् । त्यहाँ स्थानीय तहमा केही विकासको प्रयास भए तापनि बजेट अभावमा उल्लेख्य काम हुन सकेको छैन ।

महागुरु फाल्गुनन्दले जन्म लिएको चुक्चिनाम्बामा भत्किएका पर्खाल बाँकी रहेका छन् । विगतमा निजी स्वामित्वमा रहेको सो पर्खाल भएको ऐतिहासिक जग्गालाई संरक्षण गर्ने गरी हाल लारुम्बास्थित धार्मिक संस्थामा स्वामित्व सारिएको छ । सडक पुगेको भए तापनि त्यहाँ सामान्य मन्दिर मात्र रहेको छ ।

‘फाल्गुनन्द सर्किट’को प्रवेश विन्दु झापाको अर्जुनधारा नगरपालिकालाई बनाउन सकिने र इलामको माई नगरपालिकाको दानावारी, माङ्सेबुङ गाउँपालिकाको लारुम्बा, रवि, राँके हुँदै पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित लेब्रेकुटी र सिलौटीलाई महत्वपूर्ण धार्मिक करिडरको रुपमा विकसित गर्न सकिन्छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा पहिल्यैदेखि चिनिएको झापाको अर्जुनधारामा फाल्गुनन्दको पूर्णकदको शालिक, फाल्गुनन्द शान्ति बाटिका, किरात माङहिमलगायतका धार्मिक महत्वका स्थल निर्माण भइसकेको छ ।

भुटानी शरणार्थीले आश्रय लिएको अर्जुनधारा–३ कैदलेस्थित शिविरस्थलमा फाल्गुनन्द शान्ति बाटिका, फाल्गुनन्द मिङसो माङहिम र फाल्गुनन्द पोखरी निर्माण भइसकेको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य बताउँछिन् । ‘फाल्गुनन्द सर्किट’को विकास र प्रबर्धनमा सघाउन अर्जुनधारा नगरपालिका इच्छुक रहेको उनले बताइन् ।

अर्जुनधारा नगरपालिका वडा नं २ र ३ को सीमामा पर्ने खुदुनाबारी बजारको चोकमा साढे सात फिट अग्लो र करीब ६०० किलोग्राम तौलको फाल्गुनन्दको शालिक स्थापना गरिएको छ । स्थानीय मूर्तिकार भक्तबहादुर राईले कुँदेको सो शालिक स्थापना गर्न रु १२ लाख ७५ हजार खर्च भएको किरात याकथुङ चुम्लुङ खुदुनाबारीका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

‘फाल्गुनन्द सर्किट’को सबैभन्दा महत्वपूर्ण स्थान इलामको माङ्सेबुङ–५ स्थित लारुम्बा धार्मिकस्थल हो । जहाँ किरात धर्मका गुरु आत्मानन्द लिङ्देनको आश्रम रहेको छ । विश्वभरिका किरातको धार्मिक केन्द्रका रुपमा विकास भइरहेको लारुम्बामा गुरु आश्रमसहित विश्व किरात मुन्धुम पाठशाला, सेवा सावा (पुजारी) प्रशिक्षण केन्द्र, किरात लिपी पाठशाला आदि रहेको छ ।

अर्जुनधाराबाट ३५ किलोमिटर उत्तरमा लारुम्बा धार्मिक स्थल छ भने त्यहाँबाट रवि हुँदै पाँचथरको लेबे्रकुटी र सिलौटी पुग्न करीव ६० किलोमिटर सडक मार्ग छिचोल्नु पर्दछ । झापाको दमक हुँदै इलामको रवि चिसापानी र पाँचथरको लेब्रेकुटी–सिलौटी जोड्ने सडकको नाम फाल्गुनन्द मार्ग प्रस्ताव गरिएको छ भने झापाकै विर्तामोडदेखि अर्जुनधारा, इलामको माई र माङ्सेबुङ जोड्ने सडकमार्गलाई ‘आत्मानन्द मार्ग’ नामकरण गर्नुपर्ने प्रस्ताव गरिएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष इधिङ्गो बताउँछन् ।

किराती धार्मिकस्थलकै नामबाट बनेको इलामको माङ्सेबुङ गाउँपालिकाले यो वर्ष लारुम्बा धार्मिकस्थलको विकास र संरक्षणका लागि रु एक करोड ५० लाखभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार प्रदेश र सङ्घीय सरकारबाट प्राप्त बजेट जोड्ने हो भने विनियोजित बजेट रु पाँच करोड पुग्नेछ ।

लारुम्बा धार्मिकस्थललाई नेपाल सरकारले मुलुकको सय वटा पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । प्राप्त भएको बजेटबाट लारुम्बा क्षेत्रमा चक्र पथ, विद्यालय भवन र मन्दिर बनिरहेका छन् । ‘फाल्गुनन्द सर्किट’को अवधारणालाई सरकारले स्वीकृत गरेमा धार्मिक विकासका लागि अझ धेरै बजेट आउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष इधिङ्गो बताउँछन् ।

झापाको काँकडभिट्टा स्थल नाका र चन्द्रगढी विमानस्थल भएर भित्रिने पर्यटकलाई ‘फाल्गुनन्द सर्किट’ले आकर्षण गर्ने भएकाले सरकारले यसको विकासका लागि ठोस अध्ययन र योजना ल्याउनुपर्ने आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का प्रदेश नं. १ का अध्यक्ष दिपीन राईको धारणा छ ।

अर्जुनधारादेखि नै शालिक, मठमन्दिर र स्मारकहरू बनाउँदै लगियो भने लारुम्बा, सिलौटी र लेबे्रकुटी जाने धार्मिक पर्यटकले तीर्थयात्राको सार्थक अनुभूति गर्ने पत्रकार राई बताउँछन् ।

यसैबीच, अर्जुनधाराको खुदुनाबारी चोकमा नवनिर्मित महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक भोलि एक समारोहविच अनावरण हुने भएको छ । सो शालिक साढे सात फिट अग्लो र करीब ६०० किलोग्राम तौलको छ ।