प्रमुख कार्यकारी अधिकृत ज्ञवाली जेनेभा प्रस्थान

काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् ।

भूकम्पपछि नेपालको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराई थप सहयोग जुटाउने क्रममा उनी जेनेभा गएका हुन् ।

यही वैशाख ३० (मे १३ देखि १७) देखि आगामी जेठ ३ गतेसम्म जेनेभामा हुने पुनःनिर्माणसम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापनसम्बन्धी विश्वव्यापी मञ्च (ग्लोबल प्लेटफर्म) मा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनःनिर्माण र पुनःस्थापना सम्बन्धमा कार्यपत्र पेश गर्ने कार्यक्रम छ ।

कार्यक्रमबाट नेपालले पुनःनिर्माण र पुनःस्थापना सम्बन्धमा हासिल गरेको अनुभव आदानप्रदान गर्नुका साथै थप सहयोग जुटाउन र विपद् व्यवस्थापनका लागि तयारी गर्न सहयोग पुग्ने उनले बताए । “नेपालको पुनःनिर्माणमा भएको प्रगतिलाई अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका छन् । विपद् व्यवस्थापनको तयारीमा पनि स्पष्ट योजना बनाएर अघि बढ्न आवश्यक छ”, उनले भने ।

सम्मेलनको मुख्य विषय उत्थानशील पुनःस्थापनाका लागि समावेशिता रहेको छ । यसै गरी सम्मेलनमा ‘सेन्डाइ फ्रेमवर्क’को कार्यान्वयन, जोखिम न्यूनीकरण रणनीति, ‘विल्ड व्याक वेटर’, विपद्बाट विस्थापितको पुनःस्थापना, जोखिममा परेका वर्गको सम्बोधन, विपद् व्यवस्थापनमा स्थानीय सरकार र समुदायको भूमिका लगायतका विषयमा छलफल हुनेछ ।

सन् २०१५ मा जापानमा आयोजित संयुक्त राष्ट्र सङ्घद्वारा आयोजित सम्मेलनबाट सन् २०१५ देखि २०३० सम्मको विपद् जोखिम न्यूनीकरणसम्बन्धी सेन्डाइ फ्रेमवर्क तयार पारिएको थियो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको टोलीमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का कर्मचारी सहभागी छन् ।

राष्ट सङ्घको आयोजनामा हुने उक्त सम्मेलनमा विश्वका विभिन्न देशका सरकारी एवं गैरसरकारी संस्था, दातृ निकाय, विज्ञ तथा सरोकारवालाले विपद् पश्चातको पुनःनिर्माण र विपद् जोखिम न्यूनीकरणमा भएका कार्यक्रम तथा प्रगतिको समीक्षा, अनुभव आदानप्रदान र पछिल्लो अवस्थाबारे छलफल हुने जनाइएको छ ।